728x90 AdSpace

  • ताजा ताजा

    डिभी परेका २ हजार नेपाली अमेरिका आउन नपाउने !

    - किशोर पन्थी / न्युयोर्क

    गतवर्ष डिभी परेका २५ सय ७८ जना नेपालीहरु अमेरिका आउन नपाएकोमा चालु आर्थिक वर्षका लागि डिभी परेका झण्डै २ हजार नेपाली अमेरिका आउन नपाउने भएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालयले चालु आर्थिक वर्ष ( सन् २०१४ को अक्टोबरदेखि सन् २०१५को सेप्टेम्बरसम्म ) का लागि ७ हजार १ सय ५० भन्दा माथि केसनम्बर हुने नेपाली डिभी लोटरी विजेताहरु अमेरिका आउन नपाउने घोषणा गरेपछि डिभी विजेता झण्डै २ हजार नेपालीहरुले अमेरिका आउने आशा मार्नुपरेको हो । अब उनीहरु अरु सबै योग्यता पूरा गर्दा गर्दै पनि अमेरिका आउन नपाउने भएका छन् । 
    सेप्टेम्बर महिनाका लागि जारी गरिएको डिभी लोटरी भिसाको कोटामा नेपालीहरुलाई ७ हजार १ सय ५० केसनम्बरसम्म सिमित गरिएको छ भने अगस्त महिनाका लागि पनि ७ हजार १ सय ५० सम्मकै केसनम्बर तोकिएको थियो । अगस्त महिनाका लागि डिभी लोटरी भिसाको कोटामा नेपालीहरुलाई ७ हजार १ सय ५० सम्मको केस नम्बरमा सिमित गरिदा डिभी विजेता धेरैले सेप्टेम्बरका लागि केस नम्बर थपिने आशा गरेका थिए । तर अब त्यो आशा पूर्णरुपमा समाप्त भएको छ । जुलाई महिनाका लागि भने डिभी विजेता नेपालीहरुलाई केस नम्बर ६ हजार ४ सय ७५ मा सिमित गरिएको थियो । 
    नेपालीहरुलाई जुलाईदेखि सिमाबन्दी लगाउन सुरु गरिएको हो । त्यसअगाडि जुन महिनाका लागि सबै एसियाका लागि ५ हजार ९ सय ५० सम्मको केस नम्बर भएका डिभी विजेताहरुले भिसाका लागि आवेदन दिनसक्ने तोकिएपनि नेपालका लागि छुट्टै सिमाबन्दी लगाइएको थिएन । अहिले भने एसियाका अन्य मुलुकका ७ हजार ६ सय ५० सम्म केस नम्बर हुने डिभी विजेताहरुले भिसाका लागि आवेदन दिन सक्ने भएपनि नेपालका लागि भने केस नम्बर ७ हजार १ सय ५० मा सिमित गरिएको हो । 
    गतवर्ष अमेरिकाले  ९ हजार ५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुलाई भिसा आवेदनका लागि योग्य ठानेकोमा यो वर्ष केसनम्बर अझ खुम्चाइएको छ ।  एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले गतवर्ष डिभी लोटरी पार्न सफल ४ हजार ९ सय ९१ जनामध्ये कम्तीमा २ हजार नेपालीहरु अमेरिका आउन नपाउने निश्चित छ । त्यस्तै गत मे महिनामा सन् २०१६ को डिभी लोटरी पार्न सफल ३ हजार ८ सय १ नेपालीहरु मध्ये पनि कम्तीमा ३ सय नेपालीहरु अमेरिका आउन नपाउने निश्चित छ । 
    डिभी पर्दैमा अमेरिका आउन पाइन्न
    चालु आर्थिक वर्षका लागि ४ हजार ९ सय ९१ जना नेपालीहरुलाई अमेरिकाको डिभी लोटरी परेको थियो । सन् २०१४ को मे महिनामा आएको नतिजा अनुशार यो संख्यामा नेपालीहरुलाई डिभी लोटरी परेको हो । अमेरिकाले डिभी लोटरीबाट एक देशबाट हरेकवर्ष ३५ सयको हाराहारीमा मात्र विजेताहरुलाई भिसा दिने गरेकाले डिभी लोटरीको परिणाम आउँदा नै डिभी लोटरी परेका सबैजना अमेरिका आउन नपाउने निश्चित थियो ।  किनभने डिभी लोटरीको नियममा नै अमेरिकाले कुल संख्या झण्डै ५० हजारको ७ प्रतिशतको हाराहारीमा मात्र एउटा देशका लागि डाइभर्सिटी भिसा नम्बर दिने स्पष्ट पारेको छ । जस अनुशार अहिलेसम्म कुनै पनि देशले ३५ सयदेखि ३८ भन्दामाथि डाइभर्सिटी भिसा पाएको रेकर्ड छैन । त्यसैले नेपालले पनि ३५ सयको हाराहारीमा भन्दा बढी संख्यामा डाइभर्सिटी भिसा नपाउने निश्चित थियो । जस अनुशार कम्तीमा २ हजार नेपालीहरु अमेरिका आउन नपाउने निश्चित थियो । तर पनि नेपालीहरुले अमेरिका आउन पाउने आशाको त्यान्द्रो भने छाडेका थिएनन् ।
    यसैसाता अमेरिकाले ७ हजार १ सय ५० भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुले अमेरिकाको भिसा नपाउने स्पष्ट पारिदियो । त्यसैले अब ७ हजार १ सय ५० भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुको डिभीमार्फत अमेरिका आउन पाउने ढोका पूर्णरुपमा बन्द भएको छ भने पढाई छोडेर, जागिर छोडेर र सम्पत्ति बेचेर अमेरिका आउने आशामा बसेका सयौं नेपालीको विचल्ली भएको छ । किनभने डिभी लोटरी परेको भन्दै कैयन नेपालीहरु अमेरिका आउनका लागि तयार भएका बसेका थिए ।  कैयनले आफ्नो पढाई छाडेर बसेका थिए भने कैयनले घरबार बेचेर बसेका थिए । कैयनले त छँदाखाँदाको जागिर छाडेर बसेका थिए ।
    अहिलेसम्म ४४  हजार नेपालीलाई डिभी 
    मे महिनाको पहिलो साता गत वर्षको नोभेम्बरमा डिभी चिठ्ठा भरेकाहरुको पहिलो चरणको नतिजा सार्वजनिक भएसँगै अहिलेसम्म डिभी चिठ्ठा पर्ने नेपालीहरुको संख्या ४० हजार नाघेको छ । सन् १९९९ देखि हालसम्म डिभी चिठ्ठाको फारम भरेका नेपालीहरुमध्ये ४० हजार भन्दा बढी  नेपालीहरुलाई डिभी चिठ्ठा परेपछि उनीहरुका परिवारसहित अमेरिका आउनेहरुको संख्या यो भन्दा अझ बढी रहेको छ । तर कैयनले भिसा नम्बर उपलब्ध नभएका कारण वा अन्य कारणले अयोग्य ठहरिदा अमेरिका आउन पाएका छ्रैनन् । 
    इतिहास हेर्दा सन् २००१ लागि भरिएको डिभी चिठ्ठामा जम्मा २४ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो । सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।
    त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो । 
    त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए भने सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका थिए । उनीहरुको भिसा प्रकृया आगामी अक्टोबरबाट सुरु हुनेछ ।
    डिभी लोटरी भरेकाहरु गैरआप्रवासी भिसाका लागि अयोग्य !
    डिभी लोटरी भरेका केही नेपालीलाई पर्यटक भिसा लगायतका गैर आप्रवासी भिसा उपलब्ध गराउँदा समेत भिसा अधिकृतले डिभी भरे नभरेको सोध्ने र भरेको भएमा अमेरिकामा बस्ने आसय रहेछ भन्दै भिसा दिन अस्वीकृत गर्ने गरेको समेत पाइएको छ । पहिले डिभी लोटरी भरेको व्यक्तिको अमेरिकामा बस्ने र स्वदेश नफर्कने आशय रहेको भन्दै अन्य गैरआप्रवासी भिसा अस्वीकार गर्दै पत्र थमाइदिने गरिदै आएतापनि अमेरिकी सरकारले भने आधिकारिक रुपमा यसलाई पुष्टी गर्दैन । 
    अमेरिकी विदेशमन्त्रालयको भिसा कार्यालयका डाइरेक्टर सिन कुपरले खसोखाससँग कुराकानी गर्दै भने –‘डिभी लोटरीमा भाग लिएर डाइभर्सिटी भिसाका लागि अयोग्य हुनु र अमेरिकाका लागि अन्य गैर आप्रवासी भिसाका लागि आवेदन दिनुबीच कुनै सम्बन्ध हुँदैन । डिभी लोटरीमा भाग लिदैमा कुनै पनि व्यक्ति अन्य भिसाका लागि अयोग्य हुने भन्ने कुरै आउँदैन । त्यसैले डिभी लोटरीमा भाग लिएको कुनै पनि व्यक्तिले अन्य भिसाका लागि आवेदन दिन सक्छ । डिभी लोटरी भरेको वा डिभी परेर योग्यता पूरा गर्न नसक्दा अमेरिका आउन नसकेको व्यक्तिले पनि अमेरिकाको अन्य भिसाका लागि आवेदन दिन सक्छ र अमेरिका आउन सक्छ ।’
    नेपाल डिभीकै लागि अयोग्य होला ?
    विगत ५ वर्षमा ५० हजार भन्दा धेरै व्यक्ति कुनै पनि देशबाट आप्रवासी भिसामा अमेरिकामा आएका छन् भने त्यो देशका व्यक्ति डिभी कार्यक्रममा सहभागी हुन नपाउने प्रावधान रहेको छ । नेपालका छिमेकी मुलुकहरु भारत र बंगालादेशबाट विगत ५ वर्षमा ५० हजार भन्दा धेरै व्यक्ति आप्रवासी भिसामा अमेरिका आइसकेकाले ति देशका नागरिकहरु डिभी कार्यक्रममा सहभागी हुन पाउँदैनन् । 
    तर पारिवारिक स्पोन्सर, रोजगारका आधारमा वा अमेरिकी नागरिकका नजिकका आफन्त भएको आधारमा अमेरिकामा स्थायी बसोबासका लागि आउनेहरुमात्र यो ५० हजारभित्र पर्छन् । रिफ्युजीहरु , एसाइलम गर्नेहरु वा ५ वर्षभन्दा अगाडि आएर बसोबास गरिरहेकाहरु भने यो ५० हजारभित्र पर्दैनन् । नेपालको अवस्था हेर्दा सन् २०१० देखि सन् २०१४ सम्मको ५ वर्षको अवधिमा एसाइलम गर्नेहरु र रिफ्युजीबाहेक झण्डै २० हजार नेपालीहरुमात्र आप्रवासी भिसामा अमेरिकामा आएका छन् । त्यसैले तत्काल ५० हजारको मापदण्डको आधारमा हेर्दा नेपाल डिभी लोटरीकै लागि तत्काल अयोग्य हुने अवस्था भने देखिन्न । 
    डिभी लोटरीबारे महत्वपूर्ण जानकारीहरु
    यदि तपाई डिभी लोटरीमा सहभागी हुन योग्य नरहेको देशमा जन्मनुभएको भएपनि केही परिस्थीतिका कारण डिभी लोटरीका लागि आवेदन दिन योग्य हुन सक्नुहुन्छ । यदि तपाईको दम्पत्ति डिभी लोटरीमा सहभागी हुन योग्य देशमा जन्मनुभएको छ भने तपाईले आफूलाई त्यो देशको तर्फबाट डिभी लोटरीमा सहभागी गराउनसक्नु हुनेछ । तर तपाईको योग्यता तपाईको दम्पत्तिमा आधारित हुनेछ । यदि तपाईको दम्पत्ति डिभी २ भिसाका लागि योग्य भएमा मात्र तपाईले डिभी १ भिसा पाउनुहुनेछ । अनि तपाईहरु दुबैजना एकैपटक अमेरिका प्रवेश गर्नुपर्नेछ । त्यसैगरी तपाईका २१ वर्ष मुनीका छोराछोरीहरु पनि अमेरिका आउन पाउनेछन् ।
        
    अमेरिकामा धेरै व्यक्ति नआएका देशहरुबाट त्यो देशका व्यक्तिलाई अमेरिका आउने अवशर प्रदान गर्नका लागि डिभी लक्ष्यित रहेको हुन्छ । त्यसैले विगतका ५ वर्षमा परिवारको स्पोन्सर र रोजगारका आधारमा कुनै पनि देशबाट ५० हजार भन्दा बढी व्यक्ति अमेरिकामा आएका छन् भने त्यो देशका व्यक्ति डिभी लोटरीका लागि अयोग्य हुन्छन् । हरेक वर्ष अमेरिकाले ५ वर्षमा कुन देशबाट कति व्यक्ति अमेरिकामा आए भन्ने कुराको रुजु गर्छ । त्यसैले यो वर्ष डिभी लोटरीका लागि योग्य देश अर्को वर्ष अयोग्य हुनसक्छ । 
    अमेरिकाले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । डिभी लोटरीमा सहभागी हुनका लागि हाइस्कुल वा सो सरहको शैक्षिक योग्यता हुन आवश्यक छ । १२ वर्षसम्मको कोर्श पुरा गरेकोलाई त्यो शैक्षिक मान्यता प्रदान गरिदै आएको छ । तर अमेरिकी सरकारको श्रम विभागले तोकेका पेशामा आवद्ध रहेर ५ वर्षको अनुभव बटुलेका व्यक्ति भने शैक्षिक योग्यता नभएपनि डिभी लोटरीमा सहभागी हुन पाउँछन् । 

    • तपाईको प्रतिक्रिया
    Item Reviewed: डिभी परेका २ हजार नेपाली अमेरिका आउन नपाउने ! Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top