728x90 AdSpace

  • ताजा ताजा

    सुरक्षा निकायबीच बढ्दो टकराव


    सरकारले सशस्त्र प्रहरी बललाई पुर्जी काटेर ‘पक्राउ’ गर्न सक्ने अधिकार दिने गरी नियमावली संशोधन गरेपछि सशस्त्र र नेपाल प्रहरीबीच टकराव बढेको छ, जसले कुनै पनि बेला अनिष्टलाई आमन्त्रण गर्न सक्ने सम्भावना बढाइदिएको छ । यसरी दुई प्रहरी संगठनबीच टकराव र तनाव बढ्नु निश्चय पनि शुभसंकेत होइन । त्यसमाथि नयाँ संविधान जारी हुन लागिरहेको र कतिपय राजनीतिक तथा सामाजिक समूहहरू संविधान जारी गर्ने कार्यको विपक्षमा रहेको अहिलेको अवस्थामा दुई प्रहरी संगठनले आपसी समन्वयमा सुरक्षा स्थितिलाई सुदृढ बनाउनुपर्ने हो । तर, उल्टै टकराव निम्त्याउँदै जाँदा यसले सुरक्षा व्यवस्थामा नै थप जटिलता निम्त्याउन सक्छ । पछिल्लो समय दुई प्रहरी संगठनका प्रमुखहरू एउटै कार्यक्रम/स्थानमा गए पनि आफूबीचको मनमुटाव प्रस्ट रूपमा देखाउन थालेका छन् । यसले गर्दा सशस्त्र बल र नेपाल प्रहरीको सिंगो संगठन नै एकअर्काविरुद्ध परिचालित हुन थालेका छन् । यसरी माथिदेखि तलसम्म दुई प्रहरी संगठनबीच अस्वस्थ प्रतिस्पर्धा देखिनु चिन्ताको विषय हो ।
    त्यति मात्र होइन, कतिपय अवस्थामा दुई प्रहरी संगठनका प्रमुखहरूको मनमुटावको मारमा तल्लो तहका प्रहरी अधिकृत/जवानहरूसमेत पर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण गृहसचिवसहित दुवै प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख असार ३० गते सर्लाहीको मलंगवा पुग्दा देखिएको अवस्थालाई लिन सकिन्छ । नयाँ संविधानमा सुझाव संकलनअघि जिल्लाको सुरक्षा तयारीबारे गृहसचिवको नेतृत्वमा सर्लाही पुगेका नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालले असन्तुष्टि मात्रै जनाएनन्, मातहतको कार्यालय भ्रमणसमेत गरेनन् । नेपाल प्रहरीको कार्यालयमा खानाको प्रबन्ध नगरी सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयमा भएको निहुँमा उनले आफ्नै मातहतका कर्मचारीप्रति असन्तुष्टिसमेत जनाए । जबकि नेपाल प्रहरीले भने आफ्नो कार्यालयमा खानाको प्रबन्ध गर्दा सशस्त्र प्रहरी बलका प्रमुख अनुपस्थित हुन सक्ने आकलन गर्दै भोजनको व्यवस्था जिल्ला प्रशासन कार्यालयमा मिलाउने व्यवस्था गरेको थियो । तर, पछि प्रजिअले यसको समन्वय मिलाउने जिम्मा सशस्त्रलाई दिएपछि टोलीमा गएका सबैका लागि सीमा सुरक्षा कार्यालयमा भोजनको व्यवस्था गरिएको हो ।
    यति सानो मुद्दामा त नेपाल प्रहरी र सशस्त्रबीचको विवाद सतहमै देखिन्छ भने आगामी दिनमा आइपर्न सक्ने सुरक्षा चुनौतीमा यी दुई संगठनबीच समन्वय नहुँदा या टकराव बढ्दै जाँदा कस्तो स्थिति आइपर्ला ? यस हिसाबले भोलिका दिनमा यी दुई संगठनबीचको मनमुटाव/टकराव नै थप सुरक्षा चुनौतीको विषय बन्न सक्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको यो टकरावप्रति गृहसचिव सूर्य सिलवाल, गृहमन्त्री वामदेव गौतमदेखि प्रधानमन्त्री सुशील कोइरालासम्म कोही बेखबर छैनन् । बरु विवादको कारकका रूपमा राजनीतिक नेतृत्व नै देखिएका छन् । उनीहरूले सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिएबाटै विवाद चुलिएको हो । जबकि सशस्त्र प्रहरी ऐन २०५८ ले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आतंकवाद नियन्त्रण, सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, दंगा नियन्त्रण, दैवी प्रकोप र महामारी उद्धार, अपहरण हुन नदिने, शान्तिमा खलल पुर्‍याउन नदिने र सरकारी संरचनाको सुरक्षालगायत जिम्मेवारी तोकेको हो । कुनै बाह्य किसिमको आक्रमण हुँदा नेपाली सेना मातहत रहेर मद्दत गर्ने पनि उल्लेख छ । तर, पुर्जी दिएर पक्राउ गर्ने अधिकार थिएन ।
    विशेष गरी गृह मन्त्रालय र नेपाल प्रहरीबीचको सम्बन्धमा खटपट भएकै कारण सशस्त्रले यो अधिकार पाएको हो । कुनै व्यक्ति विशेषबीचको सम्बन्धको खटपटको मार संगठनमाथि पर्नु हुँदैन । त्यसो त गृहमन्त्री गौतम र नेपाल प्रहरीका प्रमुख अर्यालबीचको विवाद/खटपट प्रस्टै रूपमा देखिन्छ । फौजी संगठनबीच मतभेद सिर्जना हुनु त गम्भीर कुरा हो नै, त्यसमाथि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकअर्काविरुद्धको ‘संस्थागत लडाइँ’ मा राजनीतिक नेतृत्व मूकदर्शक हुनुले फौजी संगठनमाथि नागरिक नियन्त्रण गुम्दै गएको संकेतका रूपमा पनि लिनुपर्छ । त्यसैले गृहमन्त्री गौतमले दुई संगठनबीचको विवादलाई व्यवस्थापन गर्नतिर लाग्नुपर्छ । दुवै प्रहरी संगठनको अभिभावकको हैसियतले पनि गृहमन्त्री गौतमले कुनै एकको पक्ष लिने होइन, दुवैलाई मिलाउनतर्फ लाग्नुपर्छ । यो उनको दायित्व पनि हो । आवश्यकता परे प्रधानमन्त्री कोइरालाले समेत यो विषयमा हस्तक्षेप गरेर विवाद साम्य पार्नुपर्छ– सम्भावित अनिष्टलाई टार्ने हो भने ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: सुरक्षा निकायबीच बढ्दो टकराव Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top