728x90 AdSpace

  • ताजा ताजा

    ‘नेपाल भवन’ को जग्गा अलपत्र

    कोलकाता (भारत), असार २५ - आफ्नै सांस्कृतिक केन्द्र निर्माण गर्ने कोलकाताका नेपालीको इच्छा पुरानै हो । त्यसका लागि जग्गा पनि खरिद गरिएको छ । तर, आर्थिक समस्याका कारण भवन निर्माण हुन नसक्दा त्यो जग्गा अलपत्र छ ।
    उपयुक्त हल नहुँदा सभा, सम्मेलन आयोजना गर्न उनीहरूलाई समस्या छ । ‘आफ्नै भवनमा सभा, सम्मेलन गर्न सकियोस् भन्नेमा छौं,’ भारत–नेपाली जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष नारायण हुमागाईंले भने, ‘त्यसका लागि नेपाल सरकारसँग ठूलो आस गरेका छौं ।’
    सन् २००१ तिर कोलकातावासी नेपालीको आग्रहअनुरूप तत्कालीन सरकारले ‘नेपाल भवन’ निर्माणका लागि ‘संयुक्त नेपाली केन्द्रीय सेवा संघ’ का नाममा ६ लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यसलाई थपथाप गरी स्थानीय नौतुनहाटमा करिब ८ हजार स्क्वायर फिट जग्गा खरिद गरियो । कोलकातास्थित तत्कालीन महावाणिज्य दूत युवराज भुसालले भवन शिलान्यासको चाँजो पनि मिलाएका थिए । तर, नेपाली समुदाय र संगठनबीच विवादका कारण काम अगाडि बढ्न सकेन । ‘विवाद नभइदिएको भए यति बेलासम्ममा भवन बनिसक्थ्यो,’ हुमागाईंले भने ।
    त्यस जग्गामा रहेको कानुनी अड्चन हटिसकेको छ । नेपाली संगठनहरू सांस्कृतिक भवन निर्माणका लागि औपचारिक रूपमा आए सहयोगका लागि पहल गरिने महावाणिज्य दूत चन्द्रकुमार घिमिरेले बताए । ‘भवनका लागि आवश्यक बजेटका लागि सरकारलाई अनुरोध गर्नेछु,’ उनले भने ।
    संयुक्त नेपाली वेलफेयर ट्रस्टको नाममा राख्ने गरी भवन निर्माण थाल्ने योजना रहेको व्यवसायी चन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार कोलकाताका सबै नेपालीलाई समेटने उद्देश्यले ट्रस्ट गठन गरिएको हो । साहित्यिक सम्मेलनमा सहभागी हुन पुगेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पनि जग्गाको अवलोकन गरेका थिए । भवन निर्माणका लागि सक्दो पहल गर्ने आश्वासन पनि दिएका छन् ।
    गत चैतमा मञ्चले आयोजना गरेको साहित्य सम्मेलन रुस सरकारद्वारा निर्मित गोर्की सदनमा भएको थियो । हलका लागि २५ हजार भारतीय रुपैयाँ तिर्नुपर्‍यो । ‘आफ्नै भवन भए महँगो शुल्क तिर्नु पर्दैनथ्यो,’ मञ्चका महासचिव बद्रीविक्रम थापाले भने ।
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: ‘नेपाल भवन’ को जग्गा अलपत्र Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top