728x90 AdSpace

  • ताजा ताजा

    भ्रष्टाचार र राजनीतिको अखाडा बन्दै मावि रामनगर


    गोविन्द महतो, जनकपुरधाम । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. २ रामनगर अवस्थित श्री माध्यमिक विद्यालय रामनगरको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ । विद्यालयमा नयाँ प्राधानाध्यापक धनुषधारी यादव आएदेखि विद्यालयको अवस्था अस्तव्यस्त भएको स्थानीयहरु बताउँछन् । विद्यालयमा पठनपाठन कमजोर हुँदै गएको र राजनीति तथा भ्रष्टाचार बढेको देखिएको छ ।
     
    विद्यालयका नयाँ प्रधानाध्यापक धनुषधारी यादव केही महिना पहिले मात्र श्री प्रसाद सिंह उच्च माध्यमिक विद्यालय औरही महोत्तरीबाट सरुवा गराई आएका हुन् । श्री प्रसाद उच्च मावि औरहीमा पनि उनको छवि त्यति राम्रो थिएन ।
     
    प्रअ यादवको प्रभावमा विद्यालयका शिक्षकशिक्षिका पनि आफ्नो पढाउने दायित्वभन्दा बाहिर गएर राजनीति र भ्रष्टाचारमा लिप्त भएको अभिभावकहरुको गुनासो छ । विद्यालयका शिक्षकहरु अहिले पठनपाठनभन्दा पनि व्यवस्थापन समिति र विकास निर्माणको काममा व्यस्त भएका छन् । 
     
    हालै मात्र विद्यालयको भवन निर्माणका लागि नगरपालिकाले उपलब्ध गराएको रकम विद्यालयका प्रअ यादव तथा उनका केही सहयोगी शिक्षकहरुकोे मिलोमतोमा रोक्का गर्न लगाएपछि विद्यालयमा भइरहेको भ्रष्टाचारको खुलासा भएको छ । यसभन्दा अघि विकास निर्माणका लागि आउने गरेको रकममा व्यापक भ्रष्टाचार गरिरहेका शिक्षकहरुले यसपटक भवन निर्माणका लागि आएको रकममा भ्रष्टाचार गर्न नमिलेपछि बजेट नै रोक्न लगाएको रहस्य खुलेको छ ।
     
    शिक्षक समिति बनाउन लेटरप्याडको प्रयोग
    विद्यालयमा गौशाला नगरपालिकाद्वारा हुन लागिएको भवन निर्माणको काम रोक्न विद्यालय लेटरप्याडको दुरुपयोग गरेको तथ्य बाहिर आएको छ ।
     
    विद्यालयको लेटरप्लायडमा नगरपालिकाले भवन निर्माणका लागि लगाएको ठेक्का रद्द गर्दै शिक्षकहरुको समिति बनाई विकास निर्माणको काम अगाडि बढाउन माग गरिएको छ ।
     
    नगरपालिकालाई बुझाइएको उक्त निवेदनमा विद्यालयमा विकास निर्माणको काम विद्यालयकै शिक्षकहरुको समिति बनाई गराईदिन अनुरोध गरिएको छ । तर, निवेदनमा दर्ता तथा चलानी नम्बर नभएकाले नगरपालिकाले सो निवेदन दर्ता गर्न मानेन । दर्ता चलानी नै नभएको र निवेदनमा उल्लेख भए अनुसार विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गरिएको भनिए पनि कुनै माईनेट संलग्न नगरिएकोले निवेदनलाई मान्यता नदिएको बुझिएको छ ।
     
    को हुन धनुषधारी यादव ?
    नेपाली कांग्रेससँग आवद्ध प्रअ यादव आफ्नो अनियमित काम गर्न÷गराउन विभिन्न सभासदसम्म पुग्ने गरेको स्थानीयहरु बताउँछन् । प्रअ यादव श्री प्रसाद सिंह उच्च माध्यमिक विद्यालय औरहीमा रहँदा त्यहाँ पनि विद्यालयलाई भ्रष्टाचार र राजनीतिको अखाडा बनाएको व्यापक गुनासोहरु आएका थिए । यादवले औरही स्कुललाई आफ्नो नियन्त्रणमा लिई मनपरी गरिरहेको समाचारहरु विभिन्न संचार माध्यममा पटकपटक प्रकाशन÷प्रसारण भएको थियो ।
     
    उनीमाथि श्री प्रसाद उच्च माध्यमिक विद्यालय औरहीमा पनि धेरै अनियमितता गरेको आरोप छ । रामनगरको प्रधानाध्यापकको रुपमा केही महिना पहिले मात्र आएका यादवले अनेकौं षड्यन्त्र गरी आफ्ना कामहरु अवैधानिक रुपमा गराएको औरही स्कुलका एक जना पूर्व शिक्षकले बताएका छन् ।
     
    उनी औरहीमा प्रधानाध्यापकको रुपमा रहँदा शिक्षा मन्त्रालय तथा विद्यालयको आन्तरिबाट श्रोतबाट रु ३५ लाखको लागतमा निर्माण भएको भवनमा पुरानो सिमेन्ट तथा पुरानो घरलाई भत्काई पुरानो ईटाको प्रयोग गरेका थिए । उनले सो समयमा उच्च मावि औरहीका व्यवस्थापन समितिका अध्यक्ष विनोद पजियारलाई आफ्नोे राजनीतिक आडमा बाईपास गर्दै आफ्नै अध्यक्षतामा निर्माण समिति गठन गरी कमसल भवनको निर्माण गरेका थिए ।
     
    सो भवन अहिले पनि जिर्ण अवस्थामै रहेको छ । भवन निर्माणमा व्यापक भ्रष्टाचार भएको भनेर प्रअ यादवको आलोचना समेत भएको थियो । सोही भवन निर्माणमा अनियमितता भएको आरोपमा प्रअ यादव हाल पनि अख्तियारको ढोका पटक–पटक धाउनु परेको छ । उनले काम गरेका सम्पुर्ण फाईलहरु अख्तियारको कब्जामा रहेको छ ।
     
    स्थायी घर औरही नै भएका प्रअ यादवले आफूले गरेका भ्रष्टाचार लुकाउन आफ्नो गाउँबाट सरुवा गराएर गौशाला नपाको रामनगर मावि स्कुलमा आएको स्थानीयहरु बताउँछन् । 
     
    केही दिन पहिले मात्र उनले विद्यालयको पर्खाल निर्माणको लागि अभिभावकबिनाको समिति चयन गराएका थिए । विद्यालय व्यवस्थापन समितिको चयन गर्दा अनिवार्य अभिभावक हुनुपर्ने नियमलाई मिच्दै उनले विद्यालयको निर्माण समितिमा पनि अभिभावकलाई राखेका छैनन् । 
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: भ्रष्टाचार र राजनीतिको अखाडा बन्दै मावि रामनगर Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top