728x90 AdSpace

  • ताजा ताजा

    महिला विश्‍वकप उपाधिमा अमेरिकाको ह्याट्रिक


    टोरन्टो: अमेरिकाले तेस्रोपटक महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। अमेरिकाले सोमबार बिहान भएको फाइनलमा साबिक विजेता जापानलाई ५-२ गोलले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो। 
     
    महिला विश्वकपको उपाधि तीनपटक जित्ने अमेरिका पहिलो देशसमेत बनेको छ । सन् १९९९ पछि अमेरिकाले उपाधि जितेको यो पहिलोपटक हो।
     
    अमेरिकालाई महत्वपूर्ण जित दिलाउने क्रममा कार्ली लोयडले ह्याट्रिक गरिन्। लोयडबाहेक अमेरिकाका लागि लाउरेन होलिडे र टोबिन हिथले पनि एकएक गोल थपे। 
     
    जापानका लागि युकी ओगिमीले एक गोल फर्काइन्। एक गोल भने अमेरिकी खेलाडी जुली जोन्स्टनबाट आत्मघाती रूपमा भएको थियो । लोयडले ह्याट्रिकसँगै थुप्रै कीर्तिमान पनि बनाइन्। 
     
    उनी महिला वा पुरुष विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनिन्। यसअघि सन् १९६६ को पुरुष विश्वकपमा जर्मनीविरुद्धको फाइनलमा इङ््ल्यान्डका जियोफ हस्र्टले ह्याट्रिक गरेका थिए।
     
    लोयडले महिला र पुरुष दुवै विश्वकप फुटबलको इतिहासमा सबैभन्दा छिटो ह्याट्रिकको कीर्तिमान पनि बनाएकी छन्। 
     
    उनले १३ मिनेटभित्र तीन गोल गरेकी थिइन्। उनले तेस्रो मिनेटमा गोल गर्दै अमेरिकाको खाता खोलिन्। 
     
    त्यसको दुई मिनेटपछि नै उनले दोस्रो गोल गरिन्। खेलको १४औं मिनेटमा होलिडेले गोल गर्दै अमेरिकाको अग्रता ३–० मा पुर्‍याइन्। 
     
    १६औं मिनेटमा लोयडले गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
     
    यसैगरी खेलको २७औं मिनेटमा जापानकी ओगिमीले गोल गर्दै अन्तरलाई ४-१ मा झारिन्। 
     
    पहिलो हाफमा अमेरिका ४१ गोलले अगाडि रह्यो। ५२औं मिनेटमा अमेरिकाकी जोन्स्टनबाट आत्मघाती गोल भएपछि अमेरिकाको अग्रता ४–२ मा झरेको थियो। 
     
    तर ५४औं मिनेटमा हिथले गोल गर्दै अमेरिकालाई ५-२ ले अगाडि बढाइन्। 
     
    त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र अमेरिका ५-२ ले विजयी भयो।
     
    सात खेलमा ६ गोल गर्दै लोयडले गोल्डेन बल पनि जितिन् उनले हालसम्म ६९ वटा अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन्। 
     
    अमेरिकाको हौसला बढाउन उपराष्ट्रपति जो विडेन पनि रंगशालामा उपस्थित थिए। फाइनल खेल हेर्न ५३ हजार तीन सय ४१ जना दर्शक रंगशाला पुगेका थिए। 
     
    महिला फुटबलको सशक्त टिम अमेरिकाले यसअघि सन् १९९१ र सन् १९९९ मा विश्वकपको उपाधि जितेको थियो।
     
    अमेरिका सन् १९९५, २००३ र सन् २००७ मा तेस्रो भएको थियो। अमेरिकाले गृष्मकालीन ओलम्पिकको महिला फुटबलमा पनि तीनपटक स्वर्ण पदक जितेको छ। 
     
    विजेता खेलाडीलाई ट्रफी प्रदान गर्न विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष सेप ब्लाटर भने उपस्थित थिएनन्। 
     
    भ्रष्टाचारको आरोपमा अमेरिकी जाँच एजेन्सीले पक्राउ गर्नसक्ने डरका कारण उनी क्यानडामा उपस्थित नभएको अनुमान गरिएको छ।
     
     ब्लाटरको अनुपस्थितिमा फिफाका वरिष्ठ उपाध्यक्ष इसा हायतुले विजयी टोलीलाई ट्रफी प्रदान गरेका थिए।
     
    फाइनलमा ह्याट्रिक गरेकी ३३ वर्षीया लोयडले आफ्नो लामो खेल जीवनमा यो सुनौलो दिन भएको प्रतिक्रिया दिइन्।
     
     उनले आफूले फुटबलमा गरेको समर्पणको फल पाएको पनि बताइन्। 
     
    लगातार दोस्रो विश्वकपमा 'गोल्डेन ग्लोभ्स जितेकी अमेरिकी गोलरक्षक होप सोलोले प्रतियोगिताको सफलताले गौरवान्वित बनाएको बताइन्।
     
    जापानका प्रशिक्षक नारियो सासाकीले भने अमेरिकी खेलाडी लोयडको एकल प्रदर्शनका कारण आफूहरू उपाधिबाट विमुख हुनु परेको बताए। 
     
    चार वर्षअघिको फाइनलमा पनि लोयडले दुई गोल गरेको स्मरण गर्दै सासाकीले उनी महिला फुटबलकी स्टार खेलाडी भएको बताए। 
     
    विजेता टोलीलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि बधाई दिएका छन्।
    - See more at: 
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: महिला विश्‍वकप उपाधिमा अमेरिकाको ह्याट्रिक Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top