728x90 AdSpace

  • ताजा ताजा

    हिन्दुको पक्षमा बढी सुझाव अाएकाे हाेइन : एमाओवादी सभासद


    काठमाडौ, श्रावण ९ - एमाओवादी सभासद मोहम्मद जाकिर हुसैनले सुझाव संकलनमा हिन्दू राष्ट्रको पक्षमा बढी सुझाव आएको मिथ्या भएको दाबी गरेका छन् । सभासद हुसेनले शनिवार विज्ञप्तिमार्फत् ४ र ५ गतेको सुझाव संकलनका क्रममा सबैभन्दा बढी धर्मनिरपेक्षताको पक्षमा सुझाव आएको दाबी गरेका हुन् ।
    ‘मैले धेरै जिल्लामा अलग–अलग पार्टीका सभासदलाई फोन गरेर सोध्दा सुझाव दिन आउने जनतामध्ये केही प्रतिसतले मात्र हिन्दू राज्यको पक्षमा सुझाव दिएको र अधिकांशले धर्मनिरपेक्षताकै पक्षमा बोलेको बताउनुभएको थियो’, हुसैनले उल्लेख गरेका छन्, ‘तर बाहिर हिन्दुको पक्षमा बढी सुझाव आयो भनेर मिथ्या सूचना सार्वजनिक गरियो, यसमा षड्यन्त्रको गन्ध छ ।’
    उनले आफ्नो गृह जिल्ला सुनसरीको ३ र ५ नं. क्षेत्रमा बोलेका मध्ये ७५ प्रतिशतले धर्मनिरपेक्षताको पक्षमा बोलेको दाबी गरेका छन् । तर, कर्मचारीले प्रतिवेदन तयार गर्दा हिन्दू राष्ट्रका पक्षमा केही व्यक्तिहरुले मात्रै बोलेका कुरालाई प्राथमिकतामा राखेको उनको आरोप छ । उनले क्षेत्र नं. ५ मा पनि ६० जना जति जनताले बोलेकोमा ७–८ जनाले मात्र हिन्दू राष्ट्रको पक्षमा बोलेका थिए भने ५० जना जतिले धर्मनिरपेक्षताको पक्षमा बोलेको उल्लेख गरेका छन् ।
    ‘कर्मचारीले बुदा नं. १ मा हिन्दू राष्ट्र हुनुपर्ने लेलेका रहेछन् । मैले १६ वटै बुंदै पढ्दै जाँदा धर्मनिरपेक्षता शब्द गायब थियो । मधेशी र मुस्लिम समुदायका जनताले उठाएको नागरिकता, समानुपातिक समावेशिता सम्बन्धी मुद्दाको नामोनिशान थिएन’ उनले विज्ञप्तिमा भनेका छन्, ‘मुसलमान समुदायले उठाएका २० वटा जति मुद्दामध्ये मुस्लिम आयोग गठन गरिनुपर्छ भन्ने मात्र लेखिएको पाइयो ।’
    उनले सुझाव संकलनमा सबैभन्दा बढी सुझाव संघीयताको पक्षमा अर्थात् सीमांकनको विषय टुंग्याएर मात्र संविधान जारी गर्ने विषयमा आएकोसमेत दाबी गरेका छन् । उनले अंगीकृत नागरिकतालाई सहज बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, राष्ट्रिय जनावर गाईको सट्टा एक सिंगे गैंडा राख्नुपर्ने, वडाध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने, जनप्रतिनिधहरको शैक्षिक योग्यता तोकिनुपर्ने विषयमा बढी जनताले सुझाव दिएकोसमेत बताएका छन् ।
    अध्यक्ष केपी ओलीले धर्मनिरपेक्षताको विरुद्धमा प्रशिक्षण दिएपनि बामपन्थी स्कुलिङका एमाले कार्यकर्ता र समर्थकहरुले धर्मनिरपेक्षताको पक्षमा वकालत गरेको उनको दाबी छ । ‘कांग्रेसका जनजाति, मधेशी, दलित र मुसलमान कार्यकर्ता तथा समर्थक जनताले धर्मनिरपेक्षताकै पक्षमा बोलेको पाइयो’ उनले भनेका छन्, ‘एमाओवादी कार्यकर्ता र समर्थकले धर्मनिरपेक्षताकै पक्षमा वकालत गरे । फोरम लोकतान्त्रिक पक्षधर जनता कार्यकर्ता पनि धर्मनिरपेक्षताकै पक्षमा उभिए ।’
    • तपाईको प्रतिक्रिया
    Item Reviewed: हिन्दुको पक्षमा बढी सुझाव अाएकाे हाेइन : एमाओवादी सभासद Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top