728x90 AdSpace

  • ताजा ताजा

    एउटै चित्र १० लाखमा बिक्री

    काठमाडौ, श्रावण २४ - कविराज लामाले जापानमा पढ्दै गर्दा प्रिन्ट मेकिङ आर्ट बनाएका थिए, लिथियोग्राफी माध्यमबाट । लामाकृत ‘सिन, हियर्ड, स्पोकन’ (देखेको, सुनेको र बोलेको) भन्ने ‘थिम’को चित्र धेरैको आँखामा पर्‍यो । तर, आफ्नो मिहिनेतअनुसार मूल्य नपाएपछि उनले त्यो चित्र त्यत्तिकै साँचेर राखे ।
    चार वर्षपछि अध्ययन सकेर नेपाल फर्किएलगत्तै कविराजले फेरि त्यसलाई कला प्रदर्शनीमा राखे । फेरि पनि अर्थ बुझ्ने काम भएन । तीन साता लगाएर बनाइएको १ सय ९५ सेमी लम्बाइ र २ सय १४ सेमी चौडाइको चित्रको माथिल्लो भाग मात्रै किन्ने प्रस्ताव गरे एक नेपाली ग्राहकले । त्यो मान्य भएन । ‘माथिको भाग दिए पुरै कला नै अपुरो हुन्थ्यो,’ उनले भने, ‘त्यसैले बेचिन ।’
    समयक्रमले कविराजको प्रतिभा र मिहिनेतलाई न्याय दिलाएको छ । हालै उनको त्यही चित्र चीनमा १० लाख रुपैयाँमा बिक्री भएको छ ।
    भूकम्पपछि उनी एकल कला प्रदर्शनी निम्ति चीन गएका हुन् । उनले चार वर्षको अवधिमा बनाएका प्रिन्ट मेकिङ कला सान्दोनका जिनान चुवो सहरस्थित ब्याकयार्ड ग्यालरीमा राखेका छन् । प्रदर्शनी अझै एक महिना जारी हुनेछ ।
    ‘चीनका एक आर्ट कलेक्टरले किने,’ प्रदर्शनी चल्दाचल्दै नेपाल आएका कविराजले शनिबार सञ्चारकर्मीसँग भने, ‘उनलाई यति मन परेछ कि जति मूल्य भनेको थिएँ उति नै दिए ।’ प्रिन्ट मेकिङ कला यति धेरै मूल्यमा बिक्री हुनु उनी स्वयंका लागि आश्चर्यलाग्दो हो ।
    उक्त चित्र जर्मनीको बाबरियामा पाइने विशेष प्रकारको लाइमस्टोनबाट जापानी इजुमी कागजमा प्रिन्ट गरिएको हो । ‘खराब नसोच, खराबलाई नहेर र खराब नसुन’ अर्थ बुझाउने चित्रमा मोडलका रूपमा कविराज नै छन् ।
    कविराजले प्रदर्शनीमा राखिएका ३१ चित्रमध्ये ७५ प्रतिशत बिक्री भइसकेको बताए । उनले अहिलेसम्म २० लाख रुपैयाँ बराबरको बिक्री भएको, बाँकी चित्र पनि प्रदर्शनी अवधिभरमा बेचिसकिने उल्लेख गरे । उनले आफ्ना चित्रमा जापानमा सुनामी र भूकम्प जाँदा भोगेको अनुभव समेटेको बताए । प्रदर्शनीबाट उठेको केही रकम सामाजिक कार्यमा सहयोग गर्ने उनको योजना छ ।
    कविराजले ललितकला पत्रकार समाजलाई यो वर्षका लागि २२ हजार रुपैयाँको पुरस्कार प्रायोजन गरेका छन् । काभ्रे, तिमालका कविराजले भूकम्प प्रभावित दोलखाको विद्यालयमा आर्थिक सहयोगसमेत गर्ने सुनाए ।
    लिथियोग्राफिक प्रिन्ट मेकिङ पुरानो पद्धति भए पनि वैज्ञानिक भएको उनको छ । २१ वर्षे कलाकारले यो कला विधाको अर्थ बुझाउन आफ्नै रिसर्च सेन्टर खोलेका छन् । बौद्धस्थित उनको स्टुडियोमा जापान र चीनबाट ल्याइएको प्रिन्ट मेकिङ सामग्री उपलब्ध छन् ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: एउटै चित्र १० लाखमा बिक्री Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top