728x90 AdSpace

  • ताजा ताजा

    म स्वदेश माग्छु

    डा. धर्मागत भट्टराई
    राजधानीमा सोह्र ठाम भ्याएर बल्लबल्ल सत्रौंपटक फ्ल्याट सरेको भोलिपल्टै अलि उत्साहित भएर झ्यालबाट बाहिर चियाउँदै गर्दा त्यहि साँझ फोन बज्यो । फोनमा बोल्दाबोल्दै खुट्टा लुलिए । मेरा हड्डी गलिसकेका थिए । छाती ढक्क फुल्यो । सिरिङ्ग भो । छाँगाबाट खसेझैं भयभीत हतारहतार उही पहिरनमा भटभटे कुदाएर बत्ताउँदै अस्पतालतिर हुइकिएँ । त्यही प्रवेगमा मनभरी बिगतको तुँवालो हिउझैं चम्केर आयो । कोटे-बा प्रस्ट आए अन्तस्कणमा काठमाडौंका ‘पिच’ भनिने हिलेबाटा छिचोल्दै गर्दा ।
    ‘तँ डाग्डर भएर नि यहीँ सडिस् है बाउ । हाम्रा छोराझैं पछिम जान सकिनस् । अम्रिका, अस्लिया…कहीं गइनस् । केहि उन्नति गर्न सकिनस् खै ।’
    ठीक यही भनेथे कोटे-बाले उस दिन जब उनी लौरो टेक्दै लुरुलुरु ओरालो झर्दैगर्दा मैले बाइकमा चढाएर उनको घर पुर्‍याइदिएथें ।
    भिरकोट हो या सिरकोटबाट पुर्खा काठमाडौं सरेका हुन्, ठ्याक्कै ज्ञात भएन । तर सधैं उही चिरपरिचित आस्कोटको दायाँ खल्तीमा अस्ट्रेलिया ‘सेटल भा’की’ छोरीको र बायाँ खल्तीमा अमेरिका ‘सेटल भा’को’ डाक्टर छोराको फोटो लिएर देखाउँदै हिँड्थे उनी । यो आस्कोटबिना उनी हिँडेको देखिएन कहिल्यै । सायद त्यसैले होला बच्चादेखि बुढासम्म सबैले यी लौरो टेक्तै हिँड्ने बृद्धलाई सप्रेम कोटे-बा भनी बोलाउँथे ।
    ‘हो, कोटे-बा म अमेरिका भा’भए कहाँ आज हजुरलाई भटभटे चढाउन पाउँथे त नि ?’
    हस्पिटलबाट थाकेर आएको बेला मैले सरल जवाफ मुस्कानसित फर्काउँदा बुढालाई झन् औडाहा भएछ । बुढेसको स्वरसित बम्के बाइकमै- ‘नकरा ! कुरो चपा’र नबोल ए ! मुडक्याम्ला ऐले !’
    एकछिन थामिएर फेरी मनको भडास उतारे- ‘तँ बेकार सडिस् बाउ । याम्मे गरेर डाग्डर भएर हेर यो धरापाँ सडेको ! पछिम जान नसकेसी यो हि’लाँ बसेर के काम ? उतै ग’को भा के के गरिभ्याउथिस् ।’ कोटे-बा त एक प्रतिनिधि पात्र हुन् । अचेल ‘उतै’ भन्ने शब्दको नै उछित्तो भा’कोछ । कसैले ‘उतै’ भन्यो भने बुझ्नुपर्छ-ऊ युरोप, अमेरिका, अस्ट्रेलिया भन्न खोज्दैछ ।
    ‘हो केरे बा खै यतै रमाईयो । गइएन उता,’ मैले बाइक रोक्तै भनें ।
    घर आएपनि कोटे-बाको सिसिल्को पूरा भएनछ । बोल्दै गए, मलाई लौराको टुप्पाले ताक्दै- ‘हेर्बाउ ! तँ निदाँ छस् । कुरो किन बुजिनस् खै ? बिम्झेको भा येस्तो कुरो नबुज्ने हुन्च कहीं ? तँसित के छ डिग्री र फिक्री अनि दिनकै पम्चर हुनी यो ग्याचे भटभटे बाहेक ?’
    ‘कोटे-बा ! कैलेकाँही निदाउदा नि त मजा आउछ नि ! ग्याचे भटभटेमा हुर्रिदा नि त मजा आउछ नि !’ भन्दै म ‘प्रणाम गरें आमा’ भन्दै कोटे-आमातिर गएँ ।
    सारै गुनिली ती बुढी आमा मलाई हातमा अम्बा दिँदै थोते दाँतसित हृदयदेखि मुस्काइन्-‘भाग्यमानी भएस् बाउ ! प्रितमले खुब रुचाउथ्यो अम्बा । उनारुलाई ख्वाउन पाइन । तँ नि छोरै होस् । ल खा अम्बा ।’
    यतिकैमा कोटे-बा पुत्ताए- ‘तैले नमानेर त हो नि । नत्र ऐले प्रितमसित हुन्तिस् ।’
    ‘नकराउनुस् के ! तो देसाँ गको’भा यो बारीमा नाच्न पाउनुहुन्त्यो ? यी यसका घर ग’र निरनयसिन्धु र जनै ओसार्न पाउनुहुन्त्यो ? किन जान परो अब उता बुढेसाँ ?’ कोटे-आमाले भनिन् ।
    आमाका कुरा पछि मलाई नि कोटे-बा सित केही भन्ने साहस जाग्यो होला । बोल्न थालेछु – ‘हो बा ! आमाले भनेको कुरो गज्जप छ । मैले बिदेशमा पढ्दैगर्दा ‘तेरो देसमा गाडी हुन्छ ? तेरो देसमा ईश्वर हुन्छ ?’ भन्थे मलाई । फिस्स हाँसिदिन्थें म । म ‘उतै’ देस रहे तिनले मेरा नातिलाई नि त्यै भन्लान् नि । पढाई सकेर फर्कदा तिनै मान्छेले नेपाली त मन दिने अनि मन छुने हुदा रैछन् भनेथे । इराकमा ड्याङ् ड्याङ् नेपाली मार्दा मन त रुन्छ नि बा, हैन ? अनि ओलम्पिकमा नेपाली राष्ट्रिय धुन उत्कृस्ट हुँदा, नेपालको प्रतिनिधिले केही जित्दा, अनि बिहानै राष्ट्रियगान बज्दा आँखाले आफ्नै देशको हिमाल देख्न पाउँदा अर्कै मजा त आउँछ नि ? उताको गाडी बंगला भन्दा नि अर्कै मजा ! कसो बा ?’
    बिरामी भएनी आमा हुन् । अँधेरो भएनी आफ्नो कुनो हो । सके उज्यालो पारुँला नत्र आमा सामू एक टुकी बालौंला
    आमालाई चित्त बुझेछ, होला भनिन्- ‘हो बाउ, ठीक भनिस् । पढ्न ग’को कि भनेको त बाउ, जम्मै उतै बसे सधैंलाई । हेर् हामी बुडाबुडीको हालत । मलाई कौसुलले छोड्दैन । साँच्ची बाउ, दबाई हेर्दे त आ !’
    कोटे-आमालाई चुल्हामा धेरै धुँवा हुँदा हुने फोक्सोको बिमारी थियो । केहि अघि मैले अक्सिजन लगायत औषधि सामाग्री जुटाइदिँदा कोटे-आमा मेरो हात समातेर आँसु झार्दै हेरिरहन्थिन् ।
    मैले त्यसदिन नि औषधि बताईदिएँ । छाती हेरें र भनें, ‘आमा ऐले अलि ठीक छ पैले भन्दा ।’
    आमाले हार्दिकता प्रकट गरिन् ‘हो त नि । तब त बारी बुट्यानसम्म पुग्नसकें हेर् त ! यो कचरो अनार फलेर यहिँ प्रियंका प्रितम दुबैलाई ख्वाउन पाए ! ऐले नाती भएछ । तेई कम्पुटराँ हेरेको भर भ’ओ ।’
    बिदाबादी भएर फर्किदा नि कोटे-बाको मुख उज्यालो थिएन मसित । कारण उही थ्यो-मैले जहिले नि टारीदिने बिदेस बस्ने कुरो । एक्ला बुढाबुढीलाई तर्क सुनाएर के फाइदा ? बरु सेवा गरे केही पुण्य मिल्ला झैं लाग्थ्यो ।
    कोइ अरु भए तर्क गर्थें मैले-म स्वदेश माग्छु बा ! हजुरका नजरमा मुर्ख म, आमाको काखओरिपरी उड्ने स्वच्छन्द पन्छी । मलाई थाहा छ जमानादेखिको यो अँधेरो पाखो । तर पनि खै हजुरले ‘उता’ भन्ने पछिमको फाउनटेन भन्दा एई भाडाको घरको बलेनी प्यारो लायो ।
    नायेग्रा फल्स् भन्दा येहीका डेविस फल्स् आफ्नो लायो । मलाई थाहा छ, संगीतहीन घडीको टिकटिक् अगाडी जमानादेखि स्थिर मेरो चौघेरो । पीडित आमाको ओरिपरी बस्ने मलाई बेबकुफको बिल्ला लाईदियौ । तर यहिँ म उन्मुक्त हाँसो हास्छु ।
    जब म यसो भन्छु, सुन्नेहरुको मुखाकृति येसरी बिग्रन्छ मानौं म सबभन्दा पटमुर्ख हुँ । तर खै किन हो ‘यै माटोमा बस्ने मुर्ख’ बन्दा खुशी लाग्न थाल्यो, आफ्नी आमाको सामु बुर्कुसी मार्दा उम्दा लाग्यो । मनै त रहेछ सबथोक । बिरामी भएनी आमा हुन् । अँधेरो भएनी आफ्नो कुनो हो । सके उज्यालो पारुँला नत्र आमा सामू एक टुकी बालौंला । भाइ लक्ष्मणलाई बचाउन संजीवनी लिन या सिक्न जहाँ गएनी कुक्कुझ्याल्ला र पींगमा मच्चिन यहीं आउँला । मादल बजाम्ला आफ्नै पिंढीमा। कोटे-आमाले झैं मनले माग्छ यही बगैचा । यै आलीमा सुसेल्ने असारे । यै डाँडाको स्वतन्त्र हावा ।
    म भागेर अँधेरो कहाँ भाग्छ र ? यो अँधेरोले बरु मसित हरेक दिन स्वदेश माग्छ । आफ्नै गण्डकी र काली माग्छ
    हो, अमीर भएर नि मगन्तेसरी माग्न बाध्य पार्‍यो अँधेरोले । तर म भागेर अँधेरो कहाँ भाग्छ र ? यो अँधेरोले बरु मसित हरेक दिन स्वदेश माग्छ । आफ्नै गण्डकी र काली माग्छ । बुद्ध माग्छ । नोर्गे माग्छ र माग्छ आफ्नै शैशवको फूलबारी । उता बसे यो धून कहाँ आउँछ र अँधेरोको ?
    मैले कोटे-बालाई भनेको थिएँ- ‘हो बा, म निद्रामा छु । यो निद यस्तै रहोस् । त्यसरी ब्युझनु नपरोस् जो ब्युँझाइले मलाई यो कुनो छाडेर कहिँ अन्तै ‘उता’ तानोस् । डिग्री छ अनि फिक्री बदल्ने दाउँ छ । उताको चारपांग्रेभन्दा यै भटभटे गजप ! म ‘पागल’सित महल छैन मलम छ, गाडी छैन कलम छ । मसित देश उजिल्याउने सूर्य भएन तर कुनो उजिल्याउन छ एक धिपिर्लिके टुकी छ ।’
    आजको फोन पछि बाइकमा बिगतका यी जम्मै ‘फ्ल्यास-ब्याक’मा हराउँदै गर्दा अस्पताल पुगेंछु । हतारहतार भित्र पुग्दा थाहा पाएँ-चुल्हामा तरकारी पकाउँदै गर्दा कोटे-आमालाई आगोले समातेछ । म भक्कानिएँ । कोटे-आमाका हात समातें । फोक्सोको औषधि दगुराउँदै लिएर दैलामा पुग्दा आमा खुशी हुँदै हात समाएर आसिक दिन्थिन् । आखिर अन्तिम समय एक शब्द बोल्न नि पाइनँ । भर्खर पोलिँदा कोटे-आमाले अन्तिम इच्छा भनिथिन् रे- ‘मेरै हातले ख्वाउन पाइन । हजुरले छोरालाई त्यो करेसाको अम्बा पठाइदिनू । एकदम रुचाउँछ तेस्ले । अनारको बोट हेर्नु है, छोरी आउँदासम्म फल्ला त्यो पनि ।’
    कोटे-बाले मलाई ग्वाम्म अंगालो हालेर रोए र भने, ‘बाउ ! गई एल्ले छोडेर ।’
    कोटे-आमाको मलामीमा हामी मात्र भयौं यहीँका रैथाने । कोटे-बाले चरप्प मेरो हात समात्नुभो । बर्बरी आँखाबाट आँसु झार्दै लौरो टेक्दै हिँड्दा भान हुन्थ्यो मानौं उनी बोलिरहेछन्, ‘पूर्वको छोरो रैछस् बाउ तँ त ।’
    घर आएर डायरीमा लेखें- ‘शायद नेपाल आमा नि अम्बा हातमा लिएर छोरालाई कुरेर पर्खेकी छन् कि !’

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: म स्वदेश माग्छु Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top