728x90 AdSpace

  • ताजा ताजा

    मिथिलामा मधुमास सुरु

    फोटो : मधु श्रावणीको पहिला दिन पूजा गर्दै नवविवाहिता। -
    जनकपुरधाम: मिथिला क्षेत्रमा नवविवाहितका लागि हनिमुन मानिने मधु श्रावणी पर्व सुरु भएको छ। 
     
    सामाजिक सांस्कृतिक परम्परामा आधारित यस पर्वको रौनकता मिथिलामा छाएको छ। नवविवाहित महिलाले मंगलबार पञ्चमीको पूजा गरेपछि सुरु हुने यो पर्व १५ दिनसम्म मनाइन्छ।
     
    पतिको घरबाट पठाइएको साडी, चोलो, चुरा र गरगहना लगाएर नविवाहिता स्त्रीले शिव, पार्वती तथा नागनागिनाको पूजा गर्ने गर्छिन्। साउन महिना वर्षायामको महिना भएको हुनाले यसमा सर्प र जलचरहरूको प्रकोप बढ्छ यस्तोमा प्रकृतिको पूजा गर्ने उद्देश्यले यो पर्व मनाउने गरिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। 
     
    यो पर्व मैथिल ब्राह्मण, कायस्थ, सोनार तथा देव जातिले मनाउँछन् । पर्वको प्रत्येक दिन विशेष पूजापाठ गरी महिलाले शिव पार्वतीको कथा सुन्ने गर्छन् र साँझको बेला शृंगार गरेर सामूहिक रूपमा (फूललोढी) फूल टिप्न जाने गर्छन् । यस पर्वको अवधिभर नवविवाहित महिलाले पतिको घरबाट पठाइएको अन्नमात्रै खाने परम्परा छ।
     
    मिथिलामा प्रसिद्ध यो पर्व मनाउनुको अर्को कारण नवविवाहित दम्पतीबीचको प्रेम र सम्बन्धलाई प्रगाढ बनाउनु भएको साहित्यकार डा. राजेन्द्र विमल बताउँछन्। 'यो पर्व एक किसिमको हनिमुन नै हो,' उनी भन्छन्, ‘भर्खर बिहे भएका जोडीले एकअर्कालाई राम्ररी बुझ्न सकून् र उनीहरूको दाम्पत्य जीवन राम्ररी बितोस् भन्ने उद्देश्यले यो पर्वभरि नवविवाहिता युवती माइतमा र उनीहरूका पति पनि ससुरालीमै बस्ने प्रथा बसालिएको हो।'
     
    यस पर्वमा सबै विधा समयसापेक्ष बन्दै गए पनि अन्तिम दिन मधु श्रावणीको पूजा गर्दा महिलालाई जलिरहेको बत्तीले शरीरमा डाम्ने परम्परा भने अन्धविश्वाससँग जोडिएको छ। यो विधिमा महिलाको आँखामा श्रीमान्ले पछाडिबाट पानको पातले छोपिदिएर पूजामा सहयोगी अर्की महिलाले घुँडा र खुट्टामा पानको पात हाली त्यसमाथि जलिरहेको बत्तीले डाम्ने गरिन्छ। 
     
    यसरी डाम्दा हुने पीडा जति बढी भयो दाम्पत्य जीवनमा पर्न सक्ने दुःख, कष्ट, पीडा खप्ने क्षमता त्यति नै बढी हुने धारणा रहेको छ। महिला अधिकारको कुरा गरिराख्दा यसरी प्रथाको नाममा महिलालाई शारीरिक रूपमा कष्ट पुर्‍याएर हिंसा गर्नु उचित नभएको अधिवक्ता रेखा झा बताउँछिन्।

    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: मिथिलामा मधुमास सुरु Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top