728x90 AdSpace

  • ताजा ताजा

    प्रहरीको गोलीबाट दुईको मृत्यु, ८ घाइते, प्रहरीलाई निस्कनै नदिइ गाडीमा आगो लगाइयो (भिडियो)

    सुर्खेत, श्रावण । अखन्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि दुईजनाको मृत्यु भएको छ ।

    सोमबार बिहानैदेखि भएको प्रदर्शनले उग्ररुप लिएपछि दिउँसो साढे १ बजेदेखि कर्फ्यु जारी गरिएकोमा स्थानीय बासिन्दाले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन चर्काएका थिए ।

    त्यसक्रममा वीरेन्द्रनगर–८ स्थित कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको घर अगाडि प्रहरीको गोली लागि स्थानीय टीकाराम गौतम र यामबहादुर बीसीको मृत्यु भएको हो । सुर्खेत प्रशासनले भने गौतमको मात्रै मृत्यु भएको पुष्टि गरेको छ ।

    प्रदर्शनकारीले भने नाम नखुलेका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको दाबी गरेका छन् । भीडले खड्काको घरमा आगजनी गर्न खोजेपछि नियन्त्रण गर्न हवाई फायर गरेको र त्यसक्रममा एकजनाको मृत्यु भएको सुर्खेत जिल्ला प्रशासन कार्यालयले दाबी गरेको छ ।

    प्रहरीको गोली लागेर ८ जना घाइते भएको र तीमध्ये चारजनाको छातिमा गोली लागेको बताइएको छ । प्रदर्शन नियन्त्रण गर्नका लागि प्रहरीले थुप्रै सेल अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्जसमेत गरेको थियो ।

    झडपमा मध्यपश्चिमका डीआइजी केशव अधिकारीसहित केही प्रहरीहरु पनि घाइते भएको जनाइएको छ ।

    आन्दोलनकारीले वीरेन्द्रनगरस्थित राजनीतिक दलहरुका पार्टी कार्यलयमा तोडफोड गरेका छन् । यस्तै, जिल्ला प्रशासन कार्यालयभित्रै पसेर उनीहरुले सीसीटीभी, टेलिभिजन, फर्निचर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

    आन्दोलनकारीले सुर्खेतका प्रहरी प्रमुख एसपी राजेश कर्णको गाडीमा पनि तोडफोड गरेका छन् भने अरु ६ ओटा सवारी–साधनमा पनि आगजनी गरेका छन् ।

    नेपाल प्रहरीका चालक प्रहरी जवान वीर विष्टलाई गाडीबाट बाहिर निस्कनै नदिइ आन्दोलनकारीले आगो लगाएका थिए । बल्लतल्ल बाहिर निस्केर ज्यान जोगाएका विष्टको हात जलेको छ ।

    मध्यपश्चिम अखन्ड रहने ग्यारेन्टी नगरेसम्म आन्दोलन नरोकिने प्रदर्शनकारीहरुले बताएका छन् ।

    स्थानीय प्रशासनले कर्फ्यु लगाएको भएपनि ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमै रहेका छन् । कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिमतिर हालिएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन् ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रहरीको गोलीबाट दुईको मृत्यु, ८ घाइते, प्रहरीलाई निस्कनै नदिइ गाडीमा आगो लगाइयो (भिडियो) Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top