728x90 AdSpace

  • ताजा ताजा

    बाघ संरक्षणको आशालाग्दो वर्तमान र भावी चुनौती

    सन्दर्भ विश्व बाघ दिवस



    कृष्णप्रसाद भुसाल
    ‘जगंलको राजा’ भनिने बाघ सुगठित शरीर भएको बलियो र सुन्दर स्तनधारी जनावर हो । यो बिरालो परिवारको सबैभन्दा ठूलो प्रजाति हो । यो खाद्यचक्रको उपल्लो तहमा पर्छ । छालाको पहेंलो भुईंमा काला पाटाहरुले बाघ आकर्षक देखिन्छ र प्रत्येक बाघमा पाटाहरु फरक-फरक हुन्छन् ।
    यसका नङ्ग्रासहितका पञ्जा ठूला र बलिया हुन्छन् । यसको डोब पनि प्रत्येक बाघमा फरक-फरक हुन्छ । यी पाटा र पञ्जाका डोब नै बाघहरु बिचको फरक छुट्टयाउने संकेत हुन् ।
    लजालु र भलादमी स्वभावको बाघ प्रायः आफ्नै क्षेत्रमा एक्लो जीवन व्यतित गर्छ र रात्रिको समयमामात्र आहाराको खोजीमा निस्कन्छ । ठूलो र गह्रौं शरीर भएपनि चुस्त र लचकदार हुने हुँदा यो लामो दुरीसम्म उफ्रन सक्छ ।
    तर बासस्थानको विनास, आहाराको घट्दो क्रम, चोरि शिकार र अवैध व्यापार तथा मानव र बाघ बिचको द्वन्द्व जस्ता मुख्य कारणहरुले सन् १९०० मा करीब एक लाखको संख्यामा पाइने बाघ करीव ९७ प्रतिशतले घटेको छ ।
    वीसाैं शताब्दीको शुरुवातताका नौं उपप्रजातिका बाघहरु यस पृथ्वीमा स्वतन्त्र विचरण गर्दथे । तर बासस्थानको विनास, आहाराको घट्दो क्रम, चोरि शिकार र अवैध व्यापार तथा मानव र बाघ बिचको द्वन्द्व जस्ता मुख्य कारणहरुले सन् १९०० मा करीब एक लाखको संख्यामा पाइने बाघ करीव ९७ प्रतिशतले घटेको छ । पछिल्लो दशकमा आउँदा बाघहरु करिब ३२ सयको हाराहारीमामात्र पाइन थाले ।
    चार उपप्रजातिका बाघहरु लोप भइसकेका छन् । बालि बाघ सन् १९४० को दशकमा, क्यास्पेली बाघ १९७० को दशकमा, जाभाली बाघ १९८० को दशकमा र दक्षिण चिनियाँ बाघ १९९० को दशकमा पृथ्वीबाट लोप भइसकेका छन् । हाल संसारमा हिन्दी चिनियाँ बाघ, सुमात्रेली बाघ, साइबेरियाली बाघ, बंगाली बाघ र मलायन बाघ गरी पाँच उपप्रजातिका बाघमात्र पाइन्छन् ।
    संसारका १४ देशहरु नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाईल्यान्ड र भियतनाममामात्र हाल बाघ पाइन्छन् । बाघ पाइने यी देशको करीब एघार करोड नब्बे लाख हेक्टर क्षेत्रफलमा फैलिएको जंगलमा बाघ बस्ने गरेको बताइन्छ ।
    नेपालमा पाईने बाघलाई पाटे बाघ भनिन्छ जुन खासगरी पर्सा देखि कञ्चनपुरसम्म तराइका संरक्षित क्षेत्र र आसपासमा पाइन्छ । बाघ विनाशले सनातन पर्यावरणीय चक्र र समग्र खाद्य श्रृंखलामा असर पुग्नुका साथै पर्यापर्यटनको प्रमुख आकर्षण र पहिचानसमेत गुम्ने खतरा छ ।
    ओसिलो, घना जंगल र तराईका अग्ला घाँसे क्षेत्रहरुमा बस्ने बाघको विगत १५० वर्षमा ९३ प्रतिशत बासस्थान विनास भएको छ । पछिल्लो एक दशकमामात्रै बाघको बासस्थान ४० प्रतिशतले घटेको छ । बाघ आफ्नो ऐतिहासिक बासस्थान रेन्जको सात प्रतिशतमा संकुचीत हुन पुगेको छ । जनसंख्या बृद्धिसँगै बनविनास र अतिक्रमण, बढ्दो शहरीकरण, सडक, बाँध निर्माणलगायतका कारण बासस्थान खण्डिकरण भइरहेको छ । पूर्ण मांसाहारी बाघका आहार प्रजाती हरीण, जंगली बँदेल, लगुनालगायतका जनावरको घट्दो संख्याले पनि बाघलाई थप संकटमा पार्नुका साथै मानव र बाघबीचको द्वन्द्व बढाएको छ ।
    बाघका अगंहरुको कुनै औषधीय उपयोगिताबारे वैज्ञानिक पुष्टि त भएको छैन तर कतिपय अन्धविश्वास, परम्परागत संस्कार र भ्रामक प्रचारका कारण तस्करीमा झन् बल पुगेको देखिन्छ ।
    बाघ विनाशको प्रमुख कारण भने चोरी शिकार नै हो । बाघको मुख्यतया छाला र हड्डीका साथै मासु, बोसो, पेट, अण्डकोष, पित्त, आँखा, नाक, दाँतको पनि अवैध व्यापार हुने गर्दछ । जसको मुख्यबजार छिमेकी देश चीन हो । बाघका अगंहरुको कुनै औषधीय उपयोगिताबारे वैज्ञानिक पुष्टि त भएको छैन तर कतिपय अन्धविश्वास, परम्परागत संस्कार र भ्रामक प्रचारका कारण तस्करीमा झन् बल पुगेको देखिन्छ । बाघको छाला पहिलेदेखि नै धनाढ्यहरुको शानको रुपमा कोठा सिंगार्न, धार्मिक कार्य र कपडाको रुपमा प्रयोग गर्ने गर्दथे जसकाकारण पनि बाघकोे चोरी शिकार र बजार माग अधिक देखिन्छ । पछिल्लो संक्रमणकालीन राजनैतिक अवस्था र कमजोर कानुनको फाइदा उठाउँदै अन्तराष्ट्रिय तस्करहरु नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमासमेत प्रयेाग गरिरहेका समाचारहरु बेलाबखत आइरहेका हुन्छन् ।
    लोपोन्मुख प्रजाति बाघलाई नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ । आईयूसीएनको खतरा सूचीअनुसार बाघ संकटापन्न प्रजाति हो । बाघलाई साइटिस अनुसूची-१ मा सूचीकृत गरिएको छ । यस अनुसूचीमा अन्तराष्ट्रिय व्यापारका कारण अतिसंकटापन्न अवस्थामा पुगेका प्रजातिहरु पर्छन् र तिनको व्यापारमा पूर्ण प्रतिवन्ध लगाइएको हुन्छ ।
    बाघ संरक्षणका निम्ति नेपाल सरकारद्वारा पहिलोपटक सन् १९९९ मा र दोश्रोपटक सन् २००७ मा पाँच वर्षे बाघ संरक्षण कार्ययोजना बनाई लागु भएको छ । हाल यो पुनः नविकरण र परीमार्जनको चरणमा छ । सन् २००४ देखि नेपाल विश्व बाघ मञ्चको अध्यक्ष मुलुकको रुपमा समेत कार्यरत छ ।
    बि.सं २०६५ सालमा तराईका संरक्षित क्षेत्रहरु चितवन र बर्दिया राष्ट्रिय निकुन्जका साथै पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा स्वचालित क्यामेराको मद्दतले क्यामेरा ट्रयापीङ विधिबाट गरिएको गणनामा १ सय २१ बयस्क बाघ भेटिएका थिए । उक्त गणनाअनुसार चितवनमा ९१, बर्दियामा १८, शुक्लाफाँटामा ८ र पर्सामा ४ बाघ भेटिएका थिए ।
    पछिल्लो गणनामा भने त्यो संख्या बढेर १ सय ९८ पुगेको छ । विश्वमा पनि ३२ सयबाट बढेको बाधको संख्या ३८ सय ९८ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा १ सय २०, बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासमा ५०, शुक्लाफाटा वन्यजन्तु आरक्ष र आसपासमा १७, पर्सा वन्यजन्तु आरक्ष र आसपासमा ७, बाँके राष्ट्रिय निकुञ्ज र आसपासमा ४ बाघ भेटिएका थिए । यो पछिल्लो अध्ययन प्रतिवेदनले संरक्षणकर्मीलाई हर्षीत तुल्याएको छ भने आगामी सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने लक्ष्यलाई आधार मिलेको छ ।
    बाघ घट्ने क्रम निरन्तर जारी रहे आगामी दश वर्षमा बाघ विश्वबाटै लोप हुने बाघ विशेषज्ञहरुले चेतावनी दिएका छन् । यसबिच सन् २०१० मा आगामी दश वर्षमा विश्वभर बाघ कि दोब्बर कि शून्य भन्ने नाराको साथ बाघ बचाउँ अभियानको थालनी गरियो । रसियाको सेन्ट पिटसवर्गमा सम्पन्न बाघ पाइने १३ मुलुकका सरकार प्रमुखहरु उपस्थित विश्व बाघ सम्मेलनबाट उक्तअभियानको थालनी गरीएको थियो भने त्यसै सम्मेलनदेखि नै हरेक वर्ष २९ जुलाईका दिन विश्वभरी बाघ दिवस मनाउन थालिएको हो ।
    सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने ‘टि इन्टू टु’ नाम दिइएको यो अभियानअन्तरगत नेपालले पनि सन् २०२२ मा बाघको तात्कालीक संख्या १ सय २१ लाई दोब्बर २ सय ५० पुर्‍याउने र थप ६५०० वर्ग कि.मी. क्षेत्रलाई बाघको बासस्थानको रुपमा संरक्षण गर्ने, चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ । यहि अभियानलाई टेवा पुग्ने गरी विभिन्न जनचेतनामुलक तथा संरक्षणमुलक कार्यहरु गर्दै नेपालमा पनि आज बाघ दिवस मनाइँदै छ ।
    १३ महिनाको अवधिमामात्र नेपाल र भारतमा जोडिएका निकुञ्ज, संरक्षित क्षेत्र र आसपासमा करीब १४ बाघ मारीनुले पनि चोरी शिकार नियन्त्रणमा अन्तरदेशीय साझेदारीको टड्कारो आवश्यकता देखाउँछ, अन्यथा बाघको संख्या बढेको खुशी क्षणीकमात्र पनि हुन सक्दछ ।
    बाघ पर्यावरणीय सन्तुलनको व्यारोमिटर, जैविक विविधताको महत्वपूर्ण सूचक र पर्यापर्यटनको प्रमुख आकर्षणमात्र होइन बहुसंख्यक मानिसहरुको धार्मिक र साँस्कृतिक आस्थाको पुञ्ज पनि हो । यसर्थ बाघको जैविक, पर्यावरणीय तथा साँस्कृतिक महत्वको बारेमा जनचेतना अभिवृद्धि व्यापक बनाउनु जरुरी छ ।
    बाघको संख्या बढ्दै जाँदा बासस्थान व्यवस्थापन, आहार प्रजातिको संरक्षण, मानव-बाघ द्वन्द्व न्युनीकरण र मौसम परिवर्तन जस्ता चुनौति झन् थपिएको छ । संरक्षित क्षेत्र बाहिर रहेका बाघ संरक्षण र चोरी शिकार नियन्त्रणका लागि पनि संरक्षण सम्वन्धी ठोस कार्ययोजना बनाउन र लागू गर्न जरुरी छ ।
    विश्व बाघ सम्मेलनका क्रममा नेपाल सरकारले प्रतिवद्धता गरेको क्षेत्रीयस्तरको वन्यजन्तु अपराध नियन्त्रण केन्द्र स्थापनालाई तत्काल कार्यावन्यन गरीनुपर्दछ । तराई भू-परीधि क्षेत्रसँगै मध्यवर्ती क्षेत्र तथा अन्तरनिकुञ्ज र अन्तरदेशीय बाघ कोरीडोर -जैविकमार्ग) जोडेर, जोगाएर र विस्तार गरेर बाघको संरक्षण तथा प्राकृतिक बासस्थान व्यवस्थापन गर्नु जरुरी छ । चोरी शिकारका कारण नै बाघको संख्या तीव्र गतिमा घटेकाले त्यस्ता कार्यलाई निरुत्साहित र कडा प्रतिवन्ध लगाउनुका साथै पक्राउ तस्करहरुलाई पहुँच र प्रलोभनमा नपरी कानुनबमोजिम सजायँ हुनुपर्दछ ।
    सन् २०१५ जनवरीदेखि २०१६ फेब्रुअरीसम्मको १३ महिनाको अवधिमामात्र नेपाल र भारतमा जोडिएका निकुञ्ज, संरक्षित क्षेत्र र आसपासमा करीब १४ बाघ मारीनुले पनि चोरी शिकार नियन्त्रणमा अन्तरदेशीय साझेदारीको टड्कारो आवश्यकता देखाउँछ । अन्यथा बाघको संख्या बढेको खुशी क्षणीकमात्र पनि हुन सक्दछ ।बाघलाई दिर्घकालसम्म जोगाउन यससँग जोडिएका बहुआयामिक पक्षहरुलाई पनि बेलैमा सम्बोधन गर्नुपर्दछ ।
    बाघ संरक्षणमा अन्तरदेशीय साझेदारीसँगै स्थानीय समुदाय, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, संरक्षणकर्मी सबैले सहकार्य गरी बाघ बचाऔँ र जैविक सन्तुलनकायम गरौँ । विश्व बाघ दिवसको शुभकामना ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: बाघ संरक्षणको आशालाग्दो वर्तमान र भावी चुनौती Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top