728x90 AdSpace

  • ताजा ताजा

    आधुनिकीरणसँगै लोप भयो मिथिलाको परम्परागत गहना हसुली

    अमरेन्द्र कुमार यादव
    आधुनिक समयमा परिवर्तनको सिद्धान्त सर्वमान्य सिद्धान्त रहेको छ । चाहे कुनै क्षेत्र किन नहोस । परिवर्तन र आधुनिकीकरणको असर सबै क्षेत्रमा परेको भान सहज रुपले भईरहेको छ । भनिन्छ महिलाको सौन्दर्यतामा गरगहनाले आकर्षण अझै बढाउँछ । समय अनुसार गरगहनामा समेत आधुनिकीकरण बढदो छ । सबै क्षेत्रमा आधुनिकीकरण मौलाई रहेको समयमा यो क्षेत्रपनि अछुतो रहन सकेको छैन । जसले गर्दा उसको पौराणिक महत्व पनि सखाप हुँदै गईरहेको छ । पुराना गहनाहरुको ठाउँ आधुनिक गहनाहरुले लिन थाले पछि पुराना गहनाहरुको महत्व दिनप्रति दिन घटदै गएको छ ।

    पहिचानका लागि ठूलो संघर्ष भइरहँदा आधुनिकिकरणले धेरै कुराहरुलाई विस्थापित गर्दैछ । त्यो खानपानमा होस् वा भेष–भुषामा । मिथिलाका ती बस्तुहरुलाई समयानुसार परिर्माजन गरिएन भने त्यो लोप भएर जानेछ । मिथिलानीहरुले लगाउँदै आएका आभुषण विस्थापित हुँदै गएकोप्रति सचेत वर्ग पनि चिन्तित देखिन्छन् । पुराना गहनाहरुको ठाउँ आधुनिक गहनाहरुले लिन थाले पछि पुराना गहनाहरुको महत्व दिनप्रति दिन घट्दै गएको छ ।

    विशिष्ट मौलिक पहिचान बोकेका मिथिला परम्परागत हसुली गहना आधुनिकताको प्रवेशसँगै लोप हुने संघारमा पुगेको छ । बजारमा सहजै किन्न पाइने आधुनिक गहनाले हसुली गहनाको स्थान लिन थालेपछि मिथिलानीहरुले लगाउने हसुली गहना विस्थापनको संघारमा पुगेको हो ।

    मांगलिक र सांस्कृतिक कार्यहरुमा पौराणिक कालदेखि लगाइँदै आएका गहनाहरुप्रतिको अभिरुचिमा कमी आउन थालेपछि मिथिलानी महिलाहरुले परम्परागत गहनाहरुलाई बिर्संदै जान थालेको जनकपुरकी संचारकर्मी गायत्री झा बताउँछिन् ।


    विवाह, सांस्कृतिक समारोह र अन्य मांगलिक कार्यहरुमा परम्परागत गहनाहरु मिथिलानी महिलाहरुले लगाउने चलन पौराणिक कालदेखि चल्दै आएको भए पनि बसाइसराइँ, पाश्चात्य संस्कृतिको नक्कल र देखासिखिका कारण यस्ता गहना लगाउने युवती पिँढी विरलै देखिने गरेका छन् ।

    परम्परागत सो चाँदीका गहना मिथिलानीहरु गलामा लगाउने गर्छन् । एक दशक यतादेखि मिथिलानीहरुले लगाउने हसुली गहनाकोे प्रचलनमा कमी आएको बुढापाकाहरुले बताउँछन् ।

    ‘पौराणिक गहना लगाउन अहिलेको पुस्ताले हिचकिचाहट मान्ने, लाज मान्ने प्रवृत्ति, संस्कृति बचाउने चेतनामा कमी, बाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिमा विदेशी गहनाका आकर्षक विज्ञापन र व्यापक प्रचारप्रसारका कारण हसुली गहनाको मौलिकता हराउँदै जान थालेको’ पत्रकार जयन्त ठाकुर बताउँछन् ।
    परम्परागत गहना बचाउन मिथिला समुदायका महिलाहरुमा जागरण ल्याएर संस्कृतिप्रतिको मोह बढाउनुपर्ने उनको धारणा रहेको छ ।

    मैथिली संस्कृति, धार्मिक मान्यता, आफ्नै मौलिकता र विशिष्ट पहिचान बोकेका सो गहना लगाउने प्रचलन ग्रामिण क्षेत्रमा कहीँकतै विवाह र धार्मिक अनुष्ठानहरुमा महिलाहरुले फाट्टफुट्ट रुपमा लगाएको देखिने गरेको भए पनि बसाइसराइँ गरेर जिल्लाहरुको सहरी क्षेत्रमा बसोबास गर्ने मिथिला समुदायका व्यक्तिहरुले यस्ता गहनाहरु भने पटक्कै लगाउन छाडेका छन् ।

    अन्य समुदायसँगको हेलमेल, बाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिमा विदेशी गहनाका आकर्षक विज्ञापनले गर्दा परम्परादेखि लगाउँदै आएका गहना लगाउने प्रवृत्तिमा कमी आई अन्य समुदायको संस्कृतिले प्रवेश पाएको छ ।
    • तपाईको प्रतिक्रिया

    0 comments:

    Post a Comment

    Item Reviewed: आधुनिकीरणसँगै लोप भयो मिथिलाको परम्परागत गहना हसुली Rating: 5 Reviewed By: Amrendra yadav
    Scroll to Top